बार्सिलोना, चैत ९ (एजेन्सी)- बार्सिलोनाले ग्रेनाडामाथि ५-३ को विजय हासिल गर्दा मंगलबार लियोनेल मेसीले ह्याट्रिक पूरा गरेर टोलीको सर्वकालिन उच्च गोलकर्ताको किर्तिमान बनाएका छन्। च्याम्पियन्स लिग खेलमा पाँच गोल गरेको दुई साता नवित्दै तीन पटकका विश्व वर्ष खेलाडी मेसीको यो ह्याट्रिकपछि बार्सिलोनाका लागि कुल गोलसंख्या २ सय ३४ पुगेको छ।
उनले ५७ वर्षअघि सिजर रोडरिग्वेजले बनाएको किर्तिमानलाई दुई गोलले उछिनेका छन्। मेसीले जाभी हर्नान्डेजलाई पहिलो गोलको अवसर मिलाएलगत्तै १७ औ मिनेटमा गोल गरेर बार्सिलोनाको अग्रता फराकिलो पारेका थिए। ग्रेनाडाले मध्यान्तरपछि लगातार दुई गोल गरेर खेलमा फर्कने प्रयास गरेपनि मेसीले त्यसपछि दुई गोल थपेर बार्सिलोनाको जित पक्का गरे। मेसीको यो जारी सिजनको आठौ ह्याटि्रक हो।
'मेसीले गोल गर्दैनन्, उनले उत्कृष्ट गोल गर्छन,' बार्सिलोना प्रशिक्षक पेप ग्वार्डिओलाले भने, 'मेसी क्लबको इतिहाँस बनेका छन्। म पूरा टिमलाई उत्कृष्ट खेलका लागि धन्यवाद दिन चाहन्छु र मेसीलाई उनको यो स्वर्णिम उपलब्धीका लागि।'
बार्सिलोनाले ला लिगाको खेलमा लगातार पाएको छैटौं जितपछि टोलीले शीर्ष स्थानको रियाल मड्रिडसंगको दुरी पाँच अंकमा घटाएको छ। मेसी भने सात खेलमा १७ गोल गर्दै ३४ गोलका साथ ला लिगाको उच्च गोलकर्ता दौडमा सवभन्दा अघि छन्। दोस्रो स्थानमा ३२ गोल गरेका रियालका पोर्चुगाली फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। बार्सिलोनाका लागि मेसीले गरेको यो समग्रमा १८ औ गोल हो। पछिल्लो तीन वर्षमा खेलेका १ सय ५३ खेलमा उनको गोलसंख्या १ सय ५४ पूगेको छ। ला लिगामा उनले यो सिजनमा ६ ह्याटि्रक गर्दै गतवर्ष रोनाल्डोले बनाएको किर्तिमानसंग बराबरी गरिसकेका छन्। स्पेनिस ला लिगामा मंगलबारै सम्पन्न अर्को खेलमा ओसासुनाले घरेलु मैदानमा गेटाफेसंग गोलरहित बराबरीमा चित्त बुझायो।
बार्सिलोनामा मेसीका महत्वपुर्ण क्षणहरु
- मेसीले बार्सिलोनाका लागि पहिलो आधिकारिक गोल २००५ मे १ मा १७ वर्ष १० महिना सात दिनको उमेरमा स्पेनिस ला लिगाअन्तर्गत अल्बाकेटविरुद्ध नोउक्याम्पमा गरेका थिए। उक्त गोलका लागि उनलाई ब्राजिली स्टार रोनाल्डिन्होले पास मिलाईदिएका थिए।
-मेसीले चिर प्रतिद्धन्दी रियाल मड्रिविरुद्ध थुप्रै गोल गरेका छन्। गत सिजनको च्याम्पियन्स लिग सेमिफाइनलमा उनले रियालविरुद्ध गरेको गोलको निकै चर्चा भएको थियो। तर २००७ को मार्चमा घरेलु नोउ क्याम्प मैदानमा उनले रियालविरुद्ध गरेको ह्याटि्रक अझै महत्वपुर्ण थियो। बार्सिलोना तीन पटकसम्म खेलमा पछि पर्दा उनले तीनै पटक गोल फर्काएका थिए। रियालविरुद्ध बार्सिलोनाका तर्फबाट कुनै खेलाडीले गरेको त्यो १२ वर्षपछिको ह्याटि्रक थियो।
- २००७ को अप्रिलमा गेटाफेविरुद्ध किंगस कप खेलमा मेसीले गरेको गोल उनकै देशका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनासंग दाजियो। म्याराडोनाले १९८६ को विश्वकपमा इङल्यान्डविरुद्ध गरेको उत्कृष्ट मेहनती गोलका कारण उनी विश्व फुटबलकै महान खेलाडीका रुपमा दर्ज भएजस्तै मेसीले दुई विपक्षी रक्षकलाई सहजै कटाएर बल संगै लिएर विपक्षी गोलपिकरलाई एक फन्को मारेपछि मात्र बललाई कठिन कोणबाट 'कमजोर' दाँया खुट्टाले गोलमा परिणत गरेका थिए।
- युरोपेली क्लब फुटबलको सवभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगका पछिल्ला तीन सिजनमा उनी लगातार उच्च गोलकर्ता बन्दै आएका छन्। जारी सिजनमा पनि १२ गोल गरेर सवभन्दा अगाडि रहिसकेका उनको कुल गोलसंख्या ६४ खेलमा ४९ गोल पुर्याएका छन्। यही सिजनमा उनले बायर लेभरकुसनमाथि ७-१ को विजय हासिल गर्दा पाँच गोल गरेर उनले अर्को सनसनी मच्चाएका थिए।
- बार्सिलोनाका लागि ठूला खेलमा उच्च प्रदर्शन गर्ने मेसीको बानी जस्तै भइसकेको छ। गत सिजनको च्याम्पियन्स लिग सेमिफाइनलमा रियाल मड्रिडविरुद्ध उनको प्रदर्शन त्यस्तै स्मरणीय थियो। उनले २००९ र २०११ का दुवै फाइनलमा गोल गरेका थिए, संयोगले दुवै फाइनलमा बार्सिलोनाले म्यानचेस्टर युनाईटेडविरुद्ध खेलेको थियो। पहिलो पटक उनले दुर्लभ हेडमा विपक्षी गोलकिपर इडविन भान डर सारलाई निरिह पारेका थिए भने दोस्रो पटक भान डर सारलाई नै उनले लामो दुरीबाट कडा प्रहारमा गोल गरेका थिए।
My Best Team FC Barcelona…………….
लेख साभार नागरिकnews
धन्यवाद!


Nepal Time


Saturday, March 24, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '


Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!